ट्रेन्डिङ

Logout

देवानगञ्जमा चोरी आतंक : इलाका प्रहरी कार्यालय गैरजिम्मेवार बन्दा नागरिक असुरक्षित

1.9k Shares

सुनसरी। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द यादवले देवानगञ्ज क्षेत्रमा बढ्दो चोरीका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै इलाका प्रहरी कार्यालय देवानगञ्जको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । उहाँका अनुसार हाल कार्यरत प्रहरी टोलीको निष्क्रियता र कमजोर सुरक्षा व्यवस्थाका कारण गाउँपालिकामा चोरीका घटना दिनानुदिन बढिरहेका छन् ।

देवानगञ्ज गाउँपालिकाका अधिकांश नागरिक किसान हुन् । दिनभर खेतबारीमा पसिना बगाएर राति घर फर्किने सर्वसाधारण अहिले आफ्नै घर, धनसम्पत्ति र पशुचौपायाको सुरक्षाप्रति त्रसित बनेका छन् । पछिल्लो समय गाउँका विभिन्न स्थानमा लगातार चोरीका घटना भइरहँदा पनि इलाका प्रहरी कार्यालय देवानगञ्जले प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

विशेषगरी गाईभैंसी चोरीका घटनाले दक्षिण भेगका नागरिकलाई थप आतंकित बनाएको छ । वडा नं.–१ का बालकृष्ण मेहताले चोरी भएको आफ्नै भैंसी भारतपारिबाट फिर्ता ल्याउन चोर पक्षलाई नगद १ लाख रुपैयाँ बुझाउनुपरेको गुनासो गर्नुभएको छ । त्यस्तै, जितु मेहताको गाई र बाछो चोरी भएपछि ठूलो रकम तिरेर आफ्नै पशु फिर्ता ल्याउन बाध्य भएको स्थानीयहरूको भनाइ छ ।

स्थानीयवासीका अनुसार गाउँघरमा घुमेर कसको घरमा कति गाईभैंसी छन्, कहाँ पशु बाँधिएको छ भन्ने सूचना संकलन गरी चोर समूहलाई सुराकी दिने गिरोह नै सक्रिय रहेको आशंका गरिएको छ । गाउँमै बसेर चोरलाई लोकेसन दिने, रातिको समयमा चोरी गराउन सहयोग गर्ने र नागरिकमा त्रास फैलाउने काम भइरहेको आरोपसमेत स्थानीयहरूले लगाएका छन् ।

तर यति गम्भीर अवस्था हुँदासमेत इलाका प्रहरी कार्यालय देवानगञ्ज भने मौन देखिएको स्थानीयहरूको आरोप छ । पटक–पटक जानकारी गराउँदा पनि प्रहरीको नियमित रात्री गस्ती नहुनु, चोरीमा संलग्न समूह पहिचान गर्न नसक्नु तथा सीमा क्षेत्रमा निगरानी कमजोर हुनु प्रहरी प्रशासनकै लापरवाही भएको नागरिकहरूको भनाइ छ ।

स्थानीयहरूले केही प्रहरी कर्मचारीको भूमिकामाथि समेत शंका व्यक्त गर्दै चोर समूह र प्रहरीबीच मिलेमतो हुनसक्ने आशंका गरेका छन् । यद्यपि, यस विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ ।

महानन्द यादवले हालको प्रहरी टोलीलाई तत्काल सरुवा गरी नयाँ र सक्रिय टोली खटाउनुपर्ने माग गर्नुभएको छ । उहाँले नागरिकको सुरक्षाप्रति गम्भीर बन्न नसक्ने प्रहरी प्रशासन जनताको भरोसाको केन्द्र बन्न नसक्ने बताउनुभयो ।

स्थानीयवासीहरूले देवानगञ्ज गाउँपालिकाभर नियमित रात्री गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी, चोरीमा संलग्न गिरोहको पहिचान तथा सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गर्न प्रशासनसँग जोडदार माग गरेका छन् । समयमै प्रभावकारी कदम नचालिए देवानगञ्जमा चोरी आतंक अझ भयावह बन्न सक्ने भन्दै नागरिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार