ट्रेन्डिङ

Logout

‘एमालेको चरित्र नेतृत्व बदलिँदा पनि बदलिँदैन

3.1k Shares

नेपालगञ्जमा सम्पन्न छैटौँ महाधिवेशनसम्म नेकपा (एमाले) सँग आबद्ध रहेका तथा त्यसपछि २०५४ सालमा वामदेव गौतमसहित एमालेबाट अलग भई माले पुनर्गठन गरेका नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनालीले एमाले नेतृत्व र सिद्धान्तगत विचलनबारे कडा टिप्पणी गरेका छन्। उनका अनुसार महाधिवेशनबाट जसभए पनि एमालेको मूल चरित्र बदलिँदैन।

उनी भन्छन्— प्रचण्ड र माधव नेपालकै दबाबका कारण छाप्नुअघि नै तयार पारिएको नीति तथा कार्यक्रममा चुच्चे नक्साको प्रसंग राखिएको थियो। भारतसँगको दूरी बढाउन ओलीलाई लक्षित गर्दै उनीहरूले नै यस्तो कदम चाल्न लगाएको उनको दाबी छ। मैनालीका अनुसार नक्सा छापिएकोमा ओलीले आफ्नो मात्र भूमिका नभई माधव–प्रचण्डको दबाबमा काम गरेको बताएका थिए, तर त्यसको श्रेय भने दुवैले सार्वजनिक रूपमा कहिल्यै लिएनन्।

जबज र मार्क्सवादबारे मैनालीको टिप्पणी

मैनालीका अनुसार २०४९ सालमै एमालेले मार्क्सवादी सिद्धान्त परित्याग गरेर जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गनिर्देशक सिद्धान्त बनाएको थियो। उनका अनुसार जबज मूलतः चरम उदार पूँजीवादको सैद्धान्तिक आधार हो, जसले नेतृत्वलाई जनताभन्दा व्यक्तिगत सम्पत्तिमा केन्द्रित बनाउँछ। यही सैद्धान्तिक विचलनका कारण एमालेमा पूँजीवादी प्रवृत्तिका कमजोरीहरू देखापरेको उनको विश्लेषण छ।

उनी भन्छन्— जबज कुनै मौलिक सिद्धान्त होइन, युरोपमा असफल भइसकेको युरो–कम्युनिज्मकै प्रतिलिपि मात्र हो। सफल सिद्धान्तको प्रतिलिपि भए पनि ठीक तर असफल सिद्धान्तको नक्कल गर्नु लाजमर्दो भएको मैनालीको भनाइ छ।

‘आफ्नो गाउँ आफैं बनाऊँ’ लगायत कार्यक्रमबारे

मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा स्थानीय विकास मन्त्री हुँदा “आफ्नो गाउँ आफैं बनाऊँ” नीति आफ्नै प्रयासमा ल्याएको मैनाली बताउँछन्। उनका अनुसार त्यो कार्यक्रम सामूहिक विचारको प्रतिफल भए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी आफूले वहन गरेका कारण सफलताभागी उनी पनि हुन्।

ज्येष्ठ नागरिक भत्ता कार्यक्रम पनि कम्युनिस्ट भन्दामात्रै लागू हुनुपर्ने होइन, विवेकशील प्रजातन्त्रवादी वा राष्ट्रवादीले समेत गर्न सक्ने कार्यक्रम भएको उनी स्पष्ट पार्छन्।

महाकाली सन्धि र सीमाविवाद

मैनालीका अनुसार एमाले नै सधैं राष्ट्रहितमै थियो भन्न सकिँदैन। महाकाली सन्धि पारित गर्दा पार्टीले राष्ट्रघाती गल्ती गरेको उनको आरोप छ। लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूभाग भारतले नक्सामा समावेश गर्दा त्यसको मूल कारण त्यतिबेलै सन्धिमा स्पष्ट शब्द प्रयोग नगरिनु भएको बताउँछन्।

ओली नेतृत्वको सरकारले २०७७ मा जारी गरेको “चुच्चे नक्सा” का लागि भने उनले धन्यवाद दिएका छन्, तर परराष्ट्र नीतिलाई व्यक्तिगत प्रतिष्ठाका लागि प्रयोग गर्नु राष्ट्रका लागि घातक भएको टिप्पणी गर्छन्।

एमालेभित्रको नेतृत्व विवाद

मैनालीका अनुसार समस्या सिद्धान्तमा भन्दा पनि नेतृत्वमा गहिरो छ। २०५४ सालको फुटताकाका विवादमा वामदेव गौतमको सल्लाह मान्दा आफूले वैचारिक संघर्षको प्लेटफर्म छोड्नु गल्ती भएको स्वीकार गर्छन्। उनका अनुसार त्यतिबेलाको वास्तविक उतावली माधव नेपालतर्फबाट आएको थियो, जसले पार्टी फुटाउने वातावरण बनाएको दाबी गर्छन्।

२०३९ र २०४६ सालमा आफूलाई कारबाही गरेर हटाइएको प्रसंग पनि उनले सम्झिन्छन्। त्यतिबेलाका अन्यायपूर्ण कारबाही फिर्ता लिनुपर्ने माग मानिनु नरहेको र त्यसकै निरन्तरता पछिल्ला घटनामा पनि देखिएको उनको टिप्पणी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार