अर्थमन्त्री रामेश्वर खनालसँग युरोपेली संघ (EU) र विभिन्न युरोपेली मुलुकका राजदूतहरूले संयुक्त भेट गरेका छन्।
नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उदो युजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा फ्रान्स गणतन्त्रका दूतावास प्रतिनिधिहरूले अर्थमन्त्रीसँग भेट गरेका हुन्।
भेटका क्रममा अर्थमन्त्री खनालले नेपालप्रति युरोपेली संघ, फ्रान्स, जर्मनी र फिनल्याण्डले विगतदेखि पुर्याउँदै आएको सहयोग र साथबारे धन्यवाद व्यक्त गरे। उनले युरोपेली संघले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव संसाधन विकासलगायतका क्षेत्रमा पुर्याएको योगदान उल्लेख गरे भने फ्रान्स, जर्मनी र फिनल्याण्डले स्वास्थ्य, पर्यटन, ऊर्जा र राजस्व क्षेत्रमा गरेको सहयोगबारे चर्चा गरे।
यसैगरी, युरोपेली संघ, जर्मनी र फिनल्याण्डका राजदूतहरूले हालैको राजनीतिक परिवर्तनपछि पनि नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
अर्थमन्त्री खनालले स्विट्जरल्यान्डका लागि राजदूत डा. ड्यानिली म्यूसँग पनि भेट गरेका थिए। उक्त भेटमा उनले स्विट्जरल्यान्ड नेपालका लागि असल मित्र भएको र आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएकोमा आभार प्रकट गरे। साथै उनले नेपाल र स्विट्जरल्यान्डबीच समान भौगोलिक अवस्थिति रहेको उल्लेख गर्दै सार्वजनिक वित्त व्यवस्थापन, व्यावसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकासलगायतका क्षेत्रमा स्विट्जरल्यान्डले पुर्याएको योगदानको प्रशंसा गरे।