प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ऊर्जा व्यवस्थापनमा कुशल छवि बनाएका कुलमान घिसिङलाई तीनवटा मन्त्रालयको जिम्मेवारी दिएको छ। उनी ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले दुई पटक विद्युत् प्राधिकरणको नेतृत्व गरेका थिए। पहिलो कार्यकालमा उनले लोडसेडिङ हटाउने पहल गर्दै देशभर उज्यालो पुर्याए। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए।
घिसिङले चिलिमे जलविद्युत आयोजना समेत नेतृत्व गरेका थिए। प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा उनले घाटामा रहेको संस्थानलाई नाफामा परिणत गर्दै विद्युत् वितरण प्रणाली सुधार, बिजुली चोरी न्यूनीकरण र ग्रामीण क्षेत्रमा पहुँच विस्तार जस्ता काम गरेका थिए। तर, डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको कारण कतिपय उद्योगसँग विवाद पनि आएका थिए।
२७ साउन २०७८ मा दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनी तत्कालीन केपी शर्मा ओली सरकारसँग मिलेन र ११ चैत २०८१ मा बर्खास्त भए। सर्वोच्च अदालतमा गए पनि पुन:स्थापनाको आदेश पाएनन्।
राजनीतिक पार्टीमा प्रवेश नगरे पनि घिसिङले स्वतन्त्र रूपमा राजनीतिक अभियान गर्दै आएका छन् र पछिल्लो जेनजी आन्दोलनमा पनि सडकमा आफ्ना समर्थकहरूसहित उपस्थित भएका थिए।
रामेछापको बेथानमा जन्मेका घिसिङले काठमाडौंबाट विद्यालय शिक्षा हासिल गरेका हुन्। उनले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन्।