ट्रेन्डिङ

Logout

एभरेष्ट महिला भलिबल लिग पुनः सुरु हुने तयारी

6.1k Shares

एभरेष्ट महिला भलिबल लिग स्थगित अवस्थाबाट पुनः सुरु हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार विज्ञप्ति जारी गर्दै बाँकी खेलको तालिका चाँडै सार्वजनिक गर्ने जनाएको छ।

लिग चरणका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ७ खेल नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकबीचको सहमतिपछि मिति तय हुने आयोजकले स्पष्ट पारेको छ। सीईओ स्नेभी चापागाईंका अनुसार प्रतियोगितामा संलग्न स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर फर्काइएको छ। देशको पछिल्लो राजनीतिक परिस्थितिका कारण लिग स्थगित भएको हो।

पोखराको बहुउद्देशीय कभर्डहलमा भइरहेको प्रतियोगितामा ललितपुर क्विन्स, कर्णाली यशविस, मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाज प्रतिस्पर्धा गरिरहेका छन्। यस पटक गण्डकी थन्डर्स र चितवन शक्तिको स्थानमा क्रमशः पोखरा निन्जाज र लुम्बिनी लाभाज समावेश भएका थिए। हाल अंक तालिकामा ललितपुर क्विन्स र कर्णाली यशविस ९–९ अंकसहित शीर्ष स्थानमा छन्।

लिगको दोस्रो संस्करणमा १० देशका १८ विदेशी खेलाडीले सहभागिता जनाएका छन्। थाइल्यान्डबाट ५, नेदरल्यान्ड्सबाट ३, रुस र ब्राजिलबाट २–२ तथा अमेरिका, किर्गिस्तान, क्रोएसिया, ग्रिस, रोमानिया र बुल्गेरियाबाट एक–एक खेलाडी अनुबन्ध भएका छन्। तर यसपटक भने भारतीय खेलाडीलाई कुनै पनि फ्रेन्चाइज टोलीले समावेश गरेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार