जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिहरूका आफन्तले शव पोस्टमार्टम गर्न नदिने घोषणा गरेका छन्।
आन्दोलनमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ, जसमा २० भन्दा बढी शव टिचिङ अस्पतालको पोस्टमार्टम ब्लकमा राखिएको छ। मृतकका परिवारजनले मृत्युको कारण स्पष्ट भएकाले पोस्टमार्टम आवश्यक नभएको दाबी गर्दै शव चिर्न नदिने बताएका हुन्।
पहिलो दिन नयाँ बानेश्वरमा गोली लागेर मृत्यु भएका रसिक खतिवडाकी आमा रचना खतिवडाले छोराको शरीरमा चिर्न नदिने चेतावनी दिँदै दोषीलाई कडा कारबाहीको माग गरेकी छन्। यस्तै, सन्तोष विक, गौरव जोशी र आयुश थापाका आफन्तहरूले समेत पोस्टमार्टम अस्वीकार गरेका छन्।

मृतकका आफन्तहरूले उनीहरूलाई शहीद घोषणा गर्न, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न र उचित क्षतिपूर्ति दिन माग गरेका छन्। साथै, अन्तरिम सरकार गठनको छलफलमा आफन्तहरूको प्रतिनिधित्व हुनुपर्ने माग समेत अघि सारेका छन्।
टिचिङ अस्पतालले मृतकका आफन्तहरूको सहमति बिना पोस्टमार्टम नगर्ने जनाएको छ।