गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुलाई पूर्वाधार निर्माणका काम गुणस्तरीय ढंगले र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ।
निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा तथा १५औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले समयमै काम सम्पन्न नहुँदा आयोजनाको लागत बढ्ने गरेको उल्लेख गर्नुभयो। “निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,” मन्त्री लेखकले भन्नुभयो।
उहाँले सार्वजनिक काममा अशान्ति, चन्दा असुली र धम्की जस्ता गतिविधि सरकारले सहन नसक्ने स्पष्ट पार्नुभयो। पछिल्लो समय गुणस्तरीयता नहुनु र समयमा काम सम्पन्न नहुनु प्रमुख समस्या भएको भन्दै यसको समाधानमा निर्माण व्यवसायी र सरकार दुवैको जिम्मेवारी रहेको उहाँले उल्लेख गर्नुभयो।
मन्त्री लेखकका अनुसार “भौतिक पूर्वाधारमा गुणस्तरीय काम नभए राज्यको धनको अपव्यय मात्र नभई नागरिकले सेवा लिन पाउँदैनन्। अहिले एउटै आयोजनाको लागत २०० प्रतिशतसम्म बढेको छ।”
उहाँले राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै सरकारी र गैरसरकारी दुवै निकायको क्षमता वृद्धि भए मात्र राष्ट्र निर्माणको आधार तयार हुने धारणा राख्नुभयो।
वर्तमान सरकारले नीतिगत सुधार, कानुनी सुधार, सुशासन, दण्डहीनताको अन्त्य र विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउने प्राथमिकता लिएको बताउँदै मन्त्री लेखकले निर्माण व्यवसायीहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो। साथै, सरकारले वर्षौँदेखि बाँकी रहेको करिब ३५ अर्ब रुपैयाँ भुक्तानी गरिरहेको जानकारी पनि दिनुभयो।