आइतबारदेखि परेको अविरल वर्षाले कञ्चनपुरमा ठूलो क्षति पुर्याएको छ। जिल्लाका विभिन्न ठाउँमा ५७ घर डुबानमा परेका छन् भने सशस्त्र प्रहरीका दुई बोर्डर आउट पोस्ट (बीओपी) समेत जलमग्न भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दोधारा चाँदनी–८ को रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन्। प्रभावित ७० जनालाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा सारिएको छ।
यस्तै, दोधारा चाँदनी–३ को पटराखल्लामा बाँध भत्किँदा १५ घर बाढीले घेरेको छ र ५५ जना विस्थापितलाई जमुना आधारभूत विद्यालयमा राखिएको छ।
त्यसैगरी, दोधारा चाँदनी–१० शान्ति टोलका १२ घर डुबानमा परेपछि ४० जनालाई वडा–९ को अम्बिका माविमा सारिएको छ। सुन्दरनगरस्थित सशस्त्र प्रहरीको एक बीओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ। त्यहाँ कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालयमा सारिएको छ।
वडा–७ कञ्जभोजस्थित अर्को बीओपी पनि बाढीले प्रभावित पार्दा त्यहाँका ३० जना सुरक्षाकर्मीलाई सहरी खोप केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। साथै, भीमदत्त नगरपालिका–११ भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्।
जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलस्तर सतर्कता तह नाघेको भन्दै तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीको आवागमन रोकेको प्रहरीले जनाएको छ।
डीएसपी सागर बोहराका अनुसार, हाल महाकाली नदीमा पानीको बहाव १ लाख ९५ हजार ४५० क्युसेक पुगेको छ। भारतले सामान्यतया १ लाख क्युसेक नाघ्दा नै यातायात बन्द गर्ने गरेको छ।
यस बाढीका कारण दोधारा चाँदनीका तीन वडामात्रै करिब डेढ सय जना विस्थापित भएका छन्। उनीहरूलाई नजिकैका विद्यालयमा अस्थायी रूपमा राखिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी प्रमुख खड्क बहादुर खत्रीको कमाण्डमा १५ जनाको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।