ट्रेन्डिङ

Logout

गोरखामा धानमा मरुवा रोग फैलिँदा किसान चिन्तित, कृषि ज्ञान केन्द्रले विषादी वितरण

3.9k Shares

गोरखा जिल्लाको पालुङटार नगरपालिकाका तीन वडामा रोपिएको धानबालीमा मरुवा रोग देखा परेपछि किसानहरू चिन्तित बनेका छन्। करिब ४१० रोपनी क्षेत्रफलमा लगाइएको धान पहेँलो हुँदै गएपछि स्थानीय किसानले उत्पादनमा ठूलो क्षति हुने आशंका व्यक्त गरेका छन्।

वडा नं. ८ को हजारफाँटमा ४ सय रोपनी, वडा नं. ६ को पौवाटारमा ५ रोपनी र वडा नं. ४ को बाह्रपिर्केमा ५ रोपनी क्षेत्रफलमा रोपिएको मंसुली, गोरखानाथ र साबित्री जातका धानमा रोग देखिएको किसान वसन्त अर्यायलले जानकारी दिए।

मरुवा रोग धानमा लाग्ने खतरनाक रोगमध्ये एक हो, जसले उत्पादनमा करिब २० प्रतिशतसम्म क्षति गर्ने देखिएको छ। सुरुमा पातमा साना खैरा वा काला दाग देखापर्छन्, विस्तारै ठूला दाग बन्दै बीचमा सेतो डुङ्गा आकृतिको दाग बन्ने कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए।

बाली संरक्षण अधिकृत अम्बदत्त विष्टका अनुसार रोग बिउदेखि वानस्पतिक वृद्धि र बाला पसाइसकेपछि समेत देखापर्छ। विशेषगरी बालामा घाँटीतर्फ आक्रमण भएमा बाला नै नोक्सान हुन्छ, जसलाई "नेक ब्लाष्ट" भनिन्छ र यसले उत्पादनमा १०० प्रतिशतसम्म क्षति पुर्‍याउन सक्छ।

धानबालीमा रोग देखिएको जानकारी पाएपछि कृषि ज्ञान केन्द्र गोरखाको प्राविधिक टोलीले अनुगमन गरी किसानलाई खेतमै बोलाएर व्यवस्थापनका उपायबारे जानकारी दिएको छ। ४१० रोपनी क्षेत्रमा प्रयोग गर्न सकिने गरी "टाइसिएकोजोल ७५% (०.७५% जी)" नामक विषादी पानीमा मिसाएर छर्कन किसानलाई उपलब्ध गराइएको विष्टले बताए।

बस्ताकोटीका अनुसार किसानले उन्नत बिउ प्रयोग नगर्नु, स्रोत एकिन नगरी घरकै धानलाई बिउको रूपमा प्रयोग गर्नु, बिउ उपचार नगरी बेर्ना छर्नु, क्षति देखिँदा समयमै जानकारी नदिनु जस्ता कारणले रोग फैलिएको हो। रोग प्रायः संक्रमित पानी, परालका ठुटा र झारपातमार्फत फैलिने भएकाले यसको नियन्त्रण चुनौतीपूर्ण हुने बताइएको छ।

२१ डिग्री सेल्यस वरिपरिको तापक्रम, ओसिलो वातावरण र नाइट्रोजनको मल बढी प्रयोग भएका खेतमा रोग छिट्टै फैलिने देखिन्छ। खुमल–४, राधा–४, चन्दननाथ–१ र चन्दननाथ–२ जातका धान यस रोगलाई सहन सक्ने भएकाले खेतीका लागि उपयुक्त मानिन्छ।

किसान वसन्त अर्यायलका अनुसार कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले विषादी वितरण गरेपछि धानबालीमा सुधार देखिन थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार