कैलालीमा लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। आइतबार विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी नजिक चेकजाँचका क्रममा सोही ठाउँका २७ वर्षीय राजु चौधरी पक्राउ परेका छन्। उनले चलाइरहेको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको अगाडिको भाइजर मुनि र ह्याण्डिलको टी–गार्डको प्वालभित्र लुकाएर राखिएको ९ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको जनाएको छ।
त्यसैगरी, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका ४१ वर्षीय नारायण डगौरालाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको छ। चेकजाँच गर्दा उनको मुखमै लुकाइराखिएको २३० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।