4.8k
Shares
शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै भंग भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँले वृद्धि भएको हो।
यसअघि साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला २३६० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।
महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४ सय डलर नाघेको उनले जानकारी दिए।