काठमाडौंमा ‘जाग नेपाली’ समूहले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरूले रोमन लिपिको नम्बर प्लेटलाई राष्ट्रघातीको संज्ञा दिँदै देवनागरी लिपिमा इम्बोस्ड नम्बर लागु गर्नुपर्ने माग राखेका छन्। प्रदर्शनकारीहरूले “देवनागरी लिपिको रक्षा गरौं”, “नेपाली भाषा र लिपि मेट्न पाइँदैन”, “इम्बोस्डका भ्रष्टाचारीलाई जेल हाल” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
सरकारले २० साउन २०८२ मा निर्णय गर्दै असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने घोषणा गरेको थियो। तर जनस्तरबाट विरोध भएपछि यातायात व्यवस्था विभागले मंगलबार स्पष्ट पारेको छ कि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिवाना लाग्ने छैन।
विभागले जारी सूचनामा आगामी असोज १ भित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नजडान गरे जरिवाना लाग्ने भनाइ निराधार भएको उल्लेख गर्दै, सवारी दर्ता कार्यालयमा आफैं जाँदै इच्छाअनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जानकारी दिएको छ।