प्रहरी प्रधान कार्यालयमा पहिलो महिला प्रहरी सम्मेलन सुरु भएको छ । ‘साझा जिम्मेवारी, समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित आयोजित सम्मेलनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।
सो अवसरमा पहिलो महिला प्रहरी चैतमाया डंगोललाई सम्मान गरिएको छ । उनी वि.सं. २००८ मा प्रहरी सेवामा प्रवेश गर्दा तत्कालीन प्रहरी ऐनसमेत बनेको थिएन । अहिले २०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रतिस्थापन गर्ने विधेयक मात्रै संसदीय प्रक्रियामा रहेको छ ।
सम्मेलनमा पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दुर्गा थापा पुन (अवकाशप्राप्त), सगरमाथा आरोही कुन्जान छोपेल शेर्पा, खेलाडी प्रहरी नायब निरीक्षक जुनी राईलगायतलाई समेत सम्मान गरिएको थियो । सगरमाथा आरोहण गरेकी शेर्पालाई यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले विशेष बढुवा दिएका थिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापाको रचनामा रहेको महिला प्रहरी गीत सार्वजनिक गरियो । गृहमन्त्री लेखकले सम्बोधन गर्दै महिलाको सहभागिता बढाउन समानता, सशक्तिकरण र सम्भावना को नीति अवलम्बन गर्नुपर्ने बताए । उनले प्रहरीमा महिलाको उपस्थिति १३ प्रतिशत पुगेको उल्लेख गर्दै २० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
‘हामी यस्तो प्रहरी संगठनको परिकल्पना गरिरहेका छौं, जहाँ महिला र पुरुष दुवै समान रूपमा सुरक्षित र उत्तरदायी हुन सकून्,’ उनले भने, ‘देशको शान्ति सुरक्षा कायम राख्न महिला प्रहरीको योगदान अतुलनीय छ ।’
कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले भीआईपी सुरक्षा महिलामार्फत उपलब्ध गराउन आग्रह गर्दै महिलाले सुरक्षा दिने वर्ग पनि बन्न सक्ने उदाहरण स्थापित गर्नुपर्ने धारणा राखिन् । उनले भविष्यमा प्रहरीमा महिला प्रमुख देख्ने चाहना पनि व्यक्त गरिन् ।
यसैगरी, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, महान्यायाधिवक्ता रमेश वडाल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत तथा बेलायती दूतावासकी प्रतिनिधि केमिलिया सक्डेनले समुदायस्तरमा विश्वास जगाउन महिला प्रहरीको भूमिकाको महत्व उल्लेख गरे ।
आईजीपी दिपक थापाले गत वर्षदेखि लागू गरिएको लैङ्गिक नीतिअन्तर्गत महिला प्रहरीको सशक्तिकरणलाई प्राथमिकतामा राख्दै सम्मेलनलाई निरन्तरता दिइने बताए ।
महिला प्रहरी सम्मेलनको संयोजन अपराध अनुसन्धान विभागका प्रमुख एआईजी राजन अधिकारीले गरेका थिए । कार्यक्रममा देशभरका प्रहरी कार्यालयहरूबाट महिला प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता तथा विभिन्न युनिटमार्फत अनलाइन सहभागीता रहेको थियो ।