नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
भदौ २ गते धनगढीमा बसेको ८औं पूर्ण बैठकमा महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेका थिए। बैठकमा विधान संशोधन प्रस्तावबारे ७ वटा समूह बनाएर छलफल गरिएको थियो। ती समूहबाट प्राप्त सुझावका आधारमा प्रस्ताव सर्वसम्मत पारित गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन्।
बैठकमा समूहगत रूपमा लिखित र मौखिक रूपमा आएका सुझावलाई लिपिबद्ध गरी प्रतिवेदन तयार पारेर केन्द्रीय कमिटीमा पठाइने जनाएको छ। पार्टीका प्रदेश सचिव रणबहादुर चन्दका अनुसार प्रतिवेदन लेखन कार्य भइरहेको छ र तोकिएको समयभित्रै केन्द्रमा बुझाइनेछ।
पार्टीले १० भदौभित्र विधान संशोधनसम्बन्धी सुझाव संकलन गरी केन्द्रमा पठाउन सर्कुलर गरेको छ। सोही सर्कुलरका आधारमा प्रदेश कमिटीले बैठक बसेर सुझाव संकलन गरेको हो। बैठकले आगामी कार्तिक २१ गते प्रदेश प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय समेत गरेको छ।
यसबीच कतिपय स्थानमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक्न नहुने आवाज उठिरहेको भए पनि सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले भने विधान संशोधन प्रस्तावलाई हुबहु पारित गर्ने सामूहिक धारणा व्यक्त गरेको छ।
बैठकलाई महासचिव शंकर पोखरेल, सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेल, स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावल, नारदमुनी राना, निरुदेवी पाललगायत नेताहरूले सम्बोधन गरेका थिए।