काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोकस्थित सडकमा आइतबार राति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल पौने २ बजेतिर आपसमा ठोक्किएका थिए। दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय एक पुरुषको निधन भएको हो। उनीहरुलाई शिक्षण अस्पताल पुर्याइएपछी राति सवा २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक मध्ये एक जनाको सनाखत अझै भइसकेको छैन भने आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई बूढानीलकण्ठ–८ भंगाल बस्ने २४ वर्षीय एरिक परियारसहित पहिचान नखुलेका दुई जना (२८–३० वर्ष र ३०–३२ वर्ष) पुरुष घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ।