ट्रेन्डिङ

Logout

बागमती प्रदेशका पाँच प्रदेश सचिवको एकैपटक सरुवा, चार नयाँ सचिव नियुक्त

9.2k Shares

संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ। गत सोमबार (२६ साउन) बसेको मन्त्रिपरिषद् बैठकले ७२ जना सहसचिवको सरुवा गर्दा बागमतीका पाँच जना प्रदेश सचिवसमेत परेका हुन्।

सरकारले बागमतीबाट पाँच जना सचिव सरुवा गर्दा चार जनालाई मात्र पठाएको छ, जसले गर्दा बागमती प्रदेश लामो समयदेखि सचिव अभावको समस्या भोगिरहेको अवस्थालाई थप जटिल बनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुंवर गृह मन्त्रालयमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर रानामगर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्।

त्यस्तै, खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्।

यससँगै सरकारले अन्य प्रदेश र संघ मातहतका कार्यालयमा कार्यरत चार जना सहसचिवलाई बागमती प्रदेश सचिवको रूपमा पठाएको छ। कर्णाली प्रदेशका सचिव इन्द्रदेव भट्ट बागमतीको मुख्यमन्त्री कार्यालयमा, कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंबाट पार्वती शर्मा, र लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकाल बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियुक्त भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार