राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारभित्र कैदीबन्दीहरूले पाउने न्युनतम सुविधाबाट वञ्चित नगरिएको गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन्।
बुधवार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित व्यवहार र अन्य कैदीजस्तै सुविधा दिइएको बताए। उनका अनुसार, लामिछानेलाई छुट्टै कोठामा राखिएको छ र कारागार प्रशासनले समय–समयमा स्वास्थ्य तथा समस्या सम्बन्धी सोधपुछ गर्ने गरेको छ।
गृहमन्त्री लेखकले जेलहरू भीडभाडयुक्त भएकाले लामिछानेलाई सानो अलग्गै कोठामा राखिएको भए पनि विशेष सुविधा दिएको होइन भने। तर, न्युनतम सुविधा भने उपलब्ध गराइएको उनले दोहोर्याए।
साथै, कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने प्रक्रिया सहमतिअनुसार हुने र सुरक्षालाई मध्यनजर गरेर मात्र निर्णय लिइने पनि उनले उल्लेख गरे।