कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र केही दिनअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। दुबै भेटमा प्रदेशको मन्त्री फेरबदल लगायत समग्र राजनीतिक स्थिति विषयमा छलफल भएको छ।
मुख्यमन्त्री कार्कीका अनुसार उनले प्रधानमन्त्री ओलीलाई सरकारको कामकाज र राजनीतिक अवस्था सम्बन्धमा जानकारी गराएका छन्। देउवासँगको भेटमा पनि प्रदेशको समग्र परिस्थितिका विषयमा छलफल भएको थियो।
स्रोतका अनुसार मन्त्रीपरिषद् फेरबदलको विषयमा ओली र देउवाबीच सल्लाह पछि निर्णय गरिनेछ। कांग्रेसभित्रको विवादका कारण अहिले फेरबदलमा रोक लगाइएको छ भने पार्टीभित्रको समूहगत द्वन्द्वले पनि मन्त्री परिवर्तनमा चुनौती थपेको छ।
कोशी प्रदेश सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र कृषिमन्त्री खगेनसिंह हाङगाम विवादमा फसेका छन् भने मुख्यमन्त्री कार्कीको अन्य मन्त्रीहरूसँग सुमधुर सम्बन्ध नरहेको बताइएको छ।
नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले मन्त्रीहरूमाथि लागेको घुसप्रकरण र विवादमा मुख्यमन्त्री कार्कीलाई पटक–पटक जवाफ माग्दा पनि उनले सार्वजनिक रूपमा जवाफ दिन भने असमर्थ देखिएका छन्।
एमाले संसदीय दलका स्रोतले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन माथिबाट सिग्नल आउने वित्तिकै हुनेछ,’ र कांग्रेसभित्रको विवाद व्यवस्थापन गर्न समेत चुनौती रहेको उल्लेख गरेका छन्।
यो अवस्था मध्यमार्गबाट समाधान गर्ने प्रयास भइरहेकै बेला मुख्यमन्त्री कार्की दबाब बढाउँदै मन्त्री फेरबदलमा अगाडि बढ्ने तयारीमा रहेको जानकारी छ।