संघीय निजामती सेवा विधेयकमा उल्लेख भएको कुलिङ पिरियडसम्बन्धी गडबडीको छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा मंगलबार बिहान आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई प्रतिवेदन हस्तान्तरण गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिवेदन लामो छलफलपछि अन्ततः सर्वसम्मत रूपले पारित गरिएको हो। आइतबारदेखि सोमबारसम्मको निरन्तर छलफलबाट पनि सहमति नजुटेपछि समितिमा रातभर छलफल गरिएको थियो। सोही रात ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो।
उक्त प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई मुख्य जिम्मेवार ठहर गरिएको छ।
छानबिन समितिको सभापतित्व नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेका थिए भने सदस्यहरूमा कांग्रेसकै सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की छन्।
अब समितिको प्रतिवेदनअनुसार आवश्यक संसदीय प्रक्रिया अगाडि बढाइनेछ।