बागमती प्रदेशलाई देशको पहिलो ‘पूर्ण खोप’ प्रदेश घोषणा गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा यो घोषणा गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा, साउन २७ गतेसम्म १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र सबै आवश्यक खोप पाएको सुनिश्चित भएपछि बागमती प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरिएको हो।
यो उपलब्धि प्रदेशका १३ जिल्ला र ११९ स्थानीय तहमा सफल खोप कार्यक्रम सम्पन्न भएपछि सम्भव भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप अभियान सफल बनाउनेमा सबैलाई बधाई दिँदै, प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई पूर्ण खोप प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
साथै, प्रधानमन्त्रीले डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गर्नुभयो। उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यमा पुग्न ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिएको बताउँदै, रोग लाग्न नदिन खोप महत्वपूर्ण माध्यम भएको स्पष्ट पार्नुभयो।
“हामीले रोगका कारण र बाटाहरू बन्द गर्नुपर्छ, त्यसको उपायमध्ये खोप हो,” उहाँले भन्नुभयो, “मानव मात्र होइन, पशुपन्छी र वनस्पतिसमेत निरोगी होऊन् भन्ने सोचका साथ काम गर्दैछौँ।”
प्रधानमन्त्री ओलीले नेपालको संविधानले स्वास्थ्य सेवा मौलिक हकको रूपमा सुनिश्चित गरिएकाले खोप अभियान त्यसको सार्थक अभ्यास भएको उल्लेख गर्नुभयो। आगामी २०८३ मा नेपाललाई विकासशील मुलुकको रूपमा स्तरोन्नति गर्न पनि यस्ता स्वास्थ्य उपलब्धिहरूले भूमिका खेल्ने उहाँको भनाइ थियो।
समारोहमा खोप अभियानमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरियो। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्यकर्मीहरूको निरन्तर समर्पणले बागमती प्रदेशमा पूर्ण खोप अभियान सफल भएको बताउनुभयो।
