बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बिहीबार दिउँसो १ बजेका लागि तय भएको शपथग्रहण समारोह अर्को सूचना नआएसम्म रोकिएको छ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा बुधबार प्रदेश प्रमुख देवकोटाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् पुनर्गठन र कार्यविभाजन गरेका थिए। तर, प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा देवकोटाको स्वास्थ्यमा समस्या देखिएकाले उनी उपचारका लागि बिहीबार बिहान काठमाडौँ गएको र शपथग्रहण कार्यक्रम स्थगित भएको उल्लेख छ। प्रवक्ता देवेन्द्र सापकोटाले भने, “प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकाले उहाँ उपचारका लागि काठमाडौँ प्रस्थान गर्नुभएको छ। अर्को सूचना नआएसम्म शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ।”
यसैबीच, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। उनको पत्र प्रदेश प्रमुखले बुधबार राति बुझेका थिए। साथै, देवकोटा सोही रात एमाले नेता विष्णु ओझाको घरमा पुगी समसामयिक विषयमा छलफल गरेको ओझाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। मुख्यमन्त्री लामा संसदीय दलको नेतृत्वमा पराजित भएपछि कांग्रेसको एक पक्ष र एमाले शपथग्रहण रोक्ने पक्षमा रहेको बताइएको छ।