कास्की जिल्लाको माछापुच्छरे गाउँपालिका–३, घाचोकमा बुधबार गएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार दिउँसो साढे २ बजेतिर पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो। गुरुङ बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा पहिरोमा पुरिएको बताइएको छ।
बिहान पौने १० बजेतिर घाचोकको लस्तीखोला नजिकको हेमजा–माछापुच्छरे सडकखण्डमा पहिरो गएको थियो। सोही पहिरोले पोखराबाट विद्यालय जान लागेका शिक्षक सुरजमोहन पोखरेलको मोटरसाइकल पनि पुरेको थियो।
पोखरेल घाइते अवस्थामा स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको छ। उहाँ घाचोकस्थित शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुनुहुन्छ।
सडकमा पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।