गृह मन्त्रालयको कर्मचारी भएको नक्कली परिचय दिँदै वर्षौंदेखि ठगी गर्दै आएका सिन्धुलीका गंगा हरि न्यौपाने पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा उनलाई भीमानबाट पक्राउ गरेको हो।
कमलामाई नगरपालिका–१३ निवासी ४६ वर्षीय न्यौपानेले गृह मन्त्रालयमा करार जागिर लगाइदिने भन्दै फर्जी फारम भराएर सर्वसाधारणसँग रकम असुलेको खुलेको छ।
पक्राउपछि अनुसन्धान गर्दा उनी यसअघि पनि कैयौं ठगी र कागजात किर्तीसम्बन्धी मुद्दामा संलग्न रहेको तथ्य फेला परेको छ।
विसं २०६९ मा सैनिक अनुसन्धानसम्बन्धी मुद्दामा विशेष अदालतको कागजात कीर्ते गरी जेल चलान भएका न्यौपाने, २०७४ सालमा शान्ति सेनामा पठाइदिने भन्दै ४ लाख, कैदी छुटाइदिने भन्दै १२ लाख, र जग्गा बिक्री गरिदिने भन्दै पनि रकम ठगेको आरोप लागेका छन्।
एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार, उनीमाथि सहायक सेनानी बनाइदिने र अदालतको फैसला कीर्ते गरी ठगी गर्ने जस्ता थप उजुरीहरू समेत दर्ता भइसकेका छन्।
गंगा हरि न्यौपानेमाथि कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।