ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओली र सिड्का अध्यक्षबीच विकास सहकार्यबारे भेटवार्ता

4.6k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, हालै भएका द्विपक्षीय समझदारीहरू र विगतका उच्चस्तरीय भ्रमणहरूका क्रममा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनबारे छलफल भएको हो।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको पुरानो, सुदृढ र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पुनः दोहोर्‍याउनुभयो। साथै, हालैको आकस्मिक बाढीले क्षति पुर्‍याएको रसुवागढी नाका पुनःनिर्माणमा चीनले देखाएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता अपनाइएको जानकारी दिनुभयो।

उहाँले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित देश बनाउने चीनसँगको साझा प्रयासमा किमाथाङ्का लगायतका अन्य नाकाहरूको सञ्चालन तथा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)’ अन्तर्गतका परियोजनाहरूलाई अवरोधबिना अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ, तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए।

यसअघि, सो प्रतिनिधिमण्डलले सोमबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी विकास साझेदारी, चीनको सहयोगमा हाल सञ्चालनमा रहेका तथा आगामी परियोजनाहरूबारे छलफल गरेका थिए। सो अवसरमा चारवटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो।5e0620ba-94d9-4669-9dfc-e0c2d0603353.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार