ट्रेन्डिङ

Logout

एमालेको सचिवालय बैठकले उमेर हद र कार्यकाल सीमा हटाउने विधान संशोधन प्रस्ताव पारित

4.5k Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले पार्टी विधान संशोधनको प्रस्ताव पारित गर्दै ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकले यो प्रस्ताव आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा पेश गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार विधान संशोधन प्रस्तावसँगै केन्द्रीय कमिटीको संख्या ३०१ बाट घटाएर २५१ बनाउने र हालका १९ पदाधिकारी घटाएर १५ मा सीमित गर्ने प्रस्ताव पनि बैठकमा छलफल गरिएको छ। पद कटौती गरिने भए पनि कुन पद हटाइने भन्नेबारे भने खुलाइएको छैन।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी र सरकारको एक वर्षे कार्यकालबारे पनि छलफल भएको थियो। एमालेले सरकारको कार्यकाललाई सफल र प्रभावकारी भन्दै मुलुकले सही दिशा लिएको निष्कर्ष निकालेको छ।

महाधिवेशनको तयारीस्वरूप अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव पेस गर्ने जिम्मेवारी पाएका छन्। पार्टीले विधान महाधिवेशनलाई अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय कमिटी गठनको आधार तय गर्ने विशेष महत्वको कार्यक्रमका रूपमा लिएको छ।

सचिवालयको प्रस्ताव शुक्रबार हुने पोलिटब्युरो बैठक र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा थप छलफलका लागि पेश गरिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार