ट्रेन्डिङ

Logout

अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, संख्या १९७ पुग्यो

5.7k Shares

अमेरिकाबाट थप १९ जना नेपाली नागरिक डिपोर्ट भई नेपाल फर्किएका छन्।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, जेठ २५ गते ३७ जना नेपालीहरू एकैपटक चार्टर्ड विमानमार्फत डिपोर्ट भएर आएयता क्रमशः एक-दुईजना गरी हालसम्म १९ जना थप डिपोर्ट भइसकेका छन्।

उनका अनुसार, पहिले अमेरिका सरकारले विशेष विमानमार्फत सामूहिक रूपमा पठाएको भए पनि अहिले नियमित उडानमार्फत व्यक्तिगतरूपमा डिपोर्ट भइरहेका छन्।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयता कडा अध्यागमन नीतिका कारण सामान्य कसुरमा पनि थुप्रै व्यक्ति पक्राउ परेर डिपोर्ट हुन थालेका छन्।

नेपाल फर्किएकामध्ये अधिकांशले तल्लो बाटो (अवैध मार्ग) हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए। अध्यागमन विभागका अनुसार, ट्रम्पको कार्यकालदेखि अहिलेसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या १९७ पुगेको छ।

डिपोर्ट भएर आएका ३७ जनासँग प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सोधपुछ गरेको थियो। उनीहरूलाई अमेरिका पुर्‍याउने गिरोहबारे जानकारी पाउने आशामा मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ सुरु गरेको हो। तर, उनीहरूले कुनै जानकारी नदिई राति नै सम्पर्कविहीन बनेका थिए।

ब्यूरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, “उनीहरूबाट प्राप्त हुने सूचनाले मानव तस्करीमा संलग्न गिरोहको विस्तृत अनुसन्धानमा सहयोग पुग्ने विश्वास थियो।”

एक अनुसन्धान अधिकारीका अनुसार, अमेरिका जान खोज्ने अधिकांश व्यक्ति आफैंका चिनजानका बिचौलियाबाट ठगिएका हुँदा उजुरी गर्न हिच्किचाउँछन्।

प्रहरीका अनुसार, डिपोर्ट भएका नेपालीहरूले अवैध मार्गबाट अमेरिका पुग्न बिचौलियालाई ५० लाखदेखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। उनीहरूलाई मध्यपूर्व, युरोप र दक्षिण अमेरिका हुँदै अमेरिका पुर्‍याइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार