ट्रेन्डिङ

Logout

संयुक्त राष्ट्रसंघ सम्मेलनको नाममा असम्बन्धित व्यक्तिलाई स्पेन पुर्‍याउने गिरोहबारे सीआईबीले छानबिन समिति गठन

4.6k Shares

स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागीको नाममा असम्बन्धित व्यक्तिहरूलाई स्पेन पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन सुरु गरेको छ।
ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा, मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी रुगम कुँवरसहित ६ सदस्यीय समिति गठन गरेको हो।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरूको जाँच गर्नस्पेन पठाइएको भनिएको गिरोहबारे सत्यतथ्य पत्ता लगाउन सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोली बनाइएको हो।

खापुङले अनलाइनखबरसँग भने, “समितिलाई घटनासम्बन्धी प्राप्त सूचनाको अनुसन्धान गर्ने, संचारमाध्यममा आएका विवरणहरूको अध्ययन गरेर कसरी अगाडि बढ्ने भन्ने निर्धारण गर्ने जिम्मेवारी दिइएको छ।”

यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको उच्चस्तरीय बैठकमा यस प्रकरणको छानबिन प्रहरीमार्फत अगाडि बढाउने निर्णय गरिएको थियो। उक्त बैठकमा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभाग प्रमुख गोविन्द रिजाललगायत सहभागी थिए।

बैठकले सम्मेलनमा गैरकानुनी रूपमा सहभागी गराइएका व्यक्तिहरु स्पेनमा बसेको आशंका गर्दै विस्तृत छानबिन गर्न निर्देशन दिएको थियो।
बैठकका एक अधिकारीका अनुसार, ३० जुनदेखि २ जुलाईसम्म सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा भिजिट भिसामा गएका सबैको विवरण जाँच गर्नुपर्ने राय आएको थियो।

भिजिट भिसामा गएका सबै व्यक्ति फर्किए या नभएको छानबिनपछि गिरोहबारे अनुसन्धान हुने जनाइएको छ।

१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत चढेको स्पेन गइरहेको उडानमा पनि कतिपय व्यक्तिहरूलाई मड्रिडसम्म पुर्‍याइएको देखिएको छ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी सम्मेलनमा गैरसरकारी संस्थाको नाममा सहभागी बनाइएर उनीहरुको नाम वेबसाइटमा दर्ता गराइएको थियो। त्यसकै आधारमा दिल्लीस्थित स्पेन दूतावासबाट भिसा लिइएको थियो।

तर पछि उनीहरुको पृष्ठभूमि शंकास्पद देखिएपछि, एयरलाइन्सलाई ५५ जनाको सूची पठाई रोक्न भनिएको थियो।

खानेपानी मन्त्री प्रदीप यादवसहितको टोली स्पेन जान लाग्दा पनि थुप्रै व्यक्तिहरु विमानस्थलबाट फर्काइएका थिए
अनलाइनखबरले प्राप्त विवरण अनुसार कम्तीमा ७ जना नेपाली नागरिक कार्यक्रममा सहभागी नभई स्पेनमै बसेको पुष्टि भएको छ।

अब प्रहरीको समिति उक्त घटनाको विस्तृत छानबिन गर्दै जिम्मेवार व्यक्ति वा गिरोह पहिचान गर्ने प्रक्रिया अघि बढाउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार