Live ताजा अपडेट

Logout

असुली बढेपछि राष्ट्र बैंकमा पैसा थुपार्दै बैंक तथा वित्तीय संस्था

असुली बढेपछि राष्ट्र बैंकमा पैसा थुपार्दै बैंक तथा वित्तीय संस्था

चालु आर्थिक वर्ष सकिन लाग्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल अवस्थामा पुगेको छ । असार महिनामा असुलीमा आएको सुधारले अधिक तरलता थप जटिल बनेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा पनि उत्तिकै बढोत्तरी भएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत ५ खर्ब २० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् । यसले पनि बैंक तथा वित्तीय संस्थाको असुलीमा सुधार आएको देखिन्छ ।बैंकहरूले असुली भएको पैसालाई पनि आइडियल राख्नुभन्दा थोरै भए पनि आम्दानी हुने भएकाले केन्द्रीय बैंकलाई दिएका हुन् । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशतसम्म ब्याज आम्दानी गर्छन् । केन्द्रीय बैंकले ब्याजदर अस्वाभाविक उतारचढाव हुन नदिन वित्तीय क्षेत्रको तरलताका लागि ब्याज दिएर खिच्छ भने तरलता कसिलो हुँदा ६.५ प्रतिशत ब्याज लिई बैंक तथा वित्तीय संस्थालाई तरलता दिन्छ ।

आव अन्तिम महिनामा समान्यतया वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था हुने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन । गत आव अन्तिममा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ५५ अर्ब केन्द्रीय बैंकमा राखेका थिए ।तर, चालु आव असार महिना सकिन अझै २ साता बाँकी हुँदै बैंक तथा वित्तीय संस्थाले ५ खर्ब २० अर्ब राखिसकेका छन् । यसमा पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन मार्फत धेरै तरलता खिचेको छ । बिहीबारसम्म केन्द्रीय बैंकमा रहेको बैंक तथा वित्तीय संस्थाका कुल पैसामध्ये ३ खर्ब १० अर्ब निक्षेप संकलनको हो भने बाँकी २ खर्ब १० अर्ब स्थायी निक्षेप सुविधाको हो ।

चालु आव बैंक तथा वित्तीय संस्थालाई वासलात बलियो बनाउनु पर्ने दबाबले पनि असुलीमा सुधार आउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘वासलात बलियो बनाउन पनि असुली बढाउनु पर्ने नै हुन्छ,’ ती अधिकारीले भने, ‘जति रिकभरी बढ्यो त्यसैगरी खराब कर्जा र निष्क्रिय कर्जाको अनुपात कम हुने हो ।’

उनका अनुसार खराब कर्जा कम हुन नयाँ कर्जा बढाउन वा असुली बढाउने नै हो । चालु आव अपेक्षा गरिएको स्तरमा कर्जा विस्तार भएको छैन । चालु आव मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.५ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।

तर, चालु आव वैशाखसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार ८.४ प्रतिशतमात्र छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ३ खर्ब ६८ अर्बले विस्तार भएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव कर्जा लगानी अपेक्षित नबढ्दा बैंक तथा वित्तीय संस्था असुलीमा केन्द्रित भएको अवस्था छ । रिकभर हुनेबित्तिकै त्यो पैसा आइडियल राख्नुभन्दा केन्द्रीय बैंक नै उपयुक्त ठानेको हुनाले पनि थुप्रिएको ती अधिकारीको भनाइ छ ।

पछिल्लो समय केन्द्रीय बैंकले २ महिनाभन्दा धेरै अवधिमा निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको पैसा खिचेको छ । त्यो पैसा प्रणालीमा फर्कनका लागि भदौ नै लाग्छ । यसले साउन महिनामा पनि कर्जा लगानी बढ्ने अवस्था देखिँदैन ।

आगामी आव सरकारी खर्च तथा मौद्रिक नीतिको कार्यदिशाका आधारमा मात्रै कर्जा विस्तार कस्तो हुने भन्न सकिने उनले बताए ।

‘आर्थिक गतिविधि नबढ्दासम्म अधिक तरलताको समस्या सुधार हुँदैन, त्यसका लागि अझै २ देखि ४ महिनासम्म लाग्ने अवस्था देखिन्छ,’ उनले भने ।

केन्द्रीय बैंकका अर्का एक उच्च अधिकारी पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको बताउँछन् ।

अर्थतन्त्रका सूचकमा आएको सुधारले पनि वित्तीय क्षेत्रको अवस्थामा सुधार हुने संकेत गरेको उनको भनाइ छ । ‘असुलीमा सुधार आएको हुनाले पनि अधिक तरलता तुलनात्मक बढेको हो,’ ती अधिकारीले थपे, ‘मूल्यवृद्धि पनि लक्षित सीमाभित्र नै रहेको र आर्थिक वृद्धि पनि ४.६१ प्रतिशत हुने अनुमान छ । यसले पनि वित्तीय क्षेत्रमा सुधारमा थप सकारात्मक बनाएको छ ।’

बैंकरहरू पनि पछिल्लो समय असुलीमा सुधार आएको बताउने गरेका छन् । बैंकहरूका अनुसार असार तेस्रो सातासम्म ट्रेन्ड अनुसार करिब १० प्रतिशतसम्म असुलीमा सुधार आउने बैंकहरूको अनुमान छ । बैंकहरूले अपेक्षा गरे अनुसार असुलीमा सुधार आएको खण्डमा ऋणीको नगद प्रवाहमा पनि सुधार आएको स्पष्ट हुन्छ । त्यसले आर्थिक गतिविधि पनि बढाउने छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ