उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ। असार ७ र ८ मा बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले बताए।
बैठकले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन र आर्थिक सुधारमा असफल भएको ठहर गर्दै समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न जसपा नेपालको संघीय संसदीय दललाई निर्देश गरेको छ। पार्टीको निर्णयमा भनिएको छ, "केपी ओली नेतृत्वको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णत: असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई दिईएको समर्थनबारे पुन: विचार गर्न निर्देश गरिएको छ।"
यसैगरी, बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने शशि कपुर मियाँ (पर्सा), करिमा वेगम (पर्सा), सुधिर नाथ पाण्डे (पर्सा), कैलास गुरुङ (रूपन्देही) र निलम यादव (रूपन्देही) लाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।