नवलपुरको देवचुली–२, दुम्कौलीमा पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स र स्कूल भ्यान आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोर्डिङ स्कूल केउरेनीको बा २० च ७२ नम्बი स्कूल भ्यान ठोक्किएको नवलपुर प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कूल भ्यानका चालक, देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुबेदी रहेका छन्। उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।
दुर्घटनामा एम्बुलेन्समा सवार बुटवल गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई, २५ वर्षीया स्नेहा परियार तथा भ्यानमा सवार देवचुली–१७ का १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का घाइते भएका छन्।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एम्बुलेन्समा रहेका बिरामीहरूलाई अर्को एम्बुलेन्समार्फत चितवन पठाइएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।