आगामी आइतबार ललितपुरको जावलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ। भोटोजात्राको अवसरमा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला — काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भोटो देखाउने दिन तीनवटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
हरेक वर्ष जावलाखेलमा विशेष समारोहसहित रातो मच्छिन्द्रनाथको रथमा उभिएर भोटो देखाउने परम्परा छ। उक्त अवसरमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्छ। गुठी संस्थानका कर्मचारीले राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा लामो समयदेखि रहिआएको छ।
यस वर्ष मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सुरु गरी गावहाल, मंगलबार, टंगाल, इटीटोल, कुमारीपाटी र मानभवन हुँदै बिहीबार जावलाखेल पुर्याइएको हो। भोटो देखाइएपछि रथ यात्रा समापन हुने परम्परा छ।