ट्रेन्डिङ

Logout

प्रतिनिधिसभाको १९ दिने अधिवेशन तालिका तय, जेठ २० देखि बजेट छलफल सुरु

5.3k Shares

काठमाडौं — प्रतिनिधिसभाको आगामी बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन सञ्चालन हुने भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको कार्यतालिका पारित गरेको हो।

पारित तालिकाअनुसार जेठ महिनामा १० दिन र असारमा ९ दिन बैठक बस्नेछ। बैठकहरू जेठ २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते तोकिएको छ भने असार १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते समेत बैठक हुनेछन्।

संसद सचिवालयद्वारा सार्वजनिक गरिएको कार्यसूचीअनुसार जेठ २० गतेदेखि बजेटमाथि छलफल सुरु हुनेछ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ २३ गते बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्। यस्तै, जेठ २६ गतेदेखि मन्त्रालयगत खर्च कटौती प्रस्तावहरूमाथि छलफल हुने कार्यतालिकामा उल्लेख छ।

त्यसैगरी, संघीय निजामती सेवा विधेयक २० गते पेश गरिनेछ भने भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २५ गते पेश हुने कार्यतालिकामा समावेश छ।

यद्यपि शिक्षा विधेयक भने यो कार्यतालिकामा समावेश छैन। उक्त विधेयक अझै संसदीय समितिमा विचाराधीन रहेकाले पछि कार्यसूचीमा राखिने नेताहरूले जनाएका छन्। राजधानीमा २१ दिनसम्म आन्दोलन गरेका शिक्षकहरूसँग सरकारले गरेको सहमतिअनुसार आगामी एक महिनाभित्र, अर्थात् असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्नुपर्ने दबाब रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार