ट्रेन्डिङ

Logout

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमा रियल टाइम डलर कार्ड लोड सुविधा थप

5.6k Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ‘ग्लोबल स्मार्ट प्लस’ एपमा नयाँ र आकर्षक सुविधा थप गरेको छ । ग्राहकलाई सहज र प्रभावकारी डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको छ । 

यो सुविधासँगै ग्राहकले आफ्नो मोबाइलबाटै अन्तर्राष्ट्रिय अनलाइन किनमेल, सेवा सदस्यता र अन्य कारोबारका लागि आवश्यक अमेरिकी डलर तुरुन्तै कार्डमा लोड गर्न सक्नेछन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य छ । 

रियल टाइम लोड सुविधाले डलर कार्डमा रकम लोड गर्न बैंकको शाखामा जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । यसले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सन र अन्य डिजिटल सेवाहरूको भुक्तानीलाई सहज बनाएको छ । यो सुविधाले समय र लागत बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सजिलो पहुँच प्रदान गर्ने बैंकको विश्वास छ । 

भर्चुअल कार्ड जारी गर्दा ग्राहकले ५०० रुपैयाँ शुल्क तिर्नुपर्छ भने वार्षिक नवीकरण शुल्क ३०० रुपैयाँ तोकिएको छ । तर, मोबाइल बैंकिङमार्फत टप-अप गर्दा कुनै शुल्क लाग्दैन । ई-कम डलर कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलरसम्म कारोबार गर्न सक्नेछन् । यो सेवा लिन ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत सजिलै अनलाइन आवेदन दिन सकिन्छ । 

‘ग्लोबल स्मार्ट प्लस’ एपले खाता व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायतका सेवाहरूलाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ । रियल टाइम डलर कार्ड टप-अप सुविधाले यो एपलाई थप आकर्षक बनाउने बैंकको अपेक्षा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार