ट्रेन्डिङ

Logout

जेठ १५ मा काठमाडौं तनावग्रस्त : राजावादीको जनआन्दोलन र एमालेको गणतन्त्र प्रदर्शन आमनेसामने

4.9k Shares

काठमाडौं — नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समिति ले आगामी जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र घोषणासंघीयता खारेज लगायत माग गर्दै अनिश्चितकालीन सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायतका दल र समूहहरूको समर्थन प्राप्त छ।

आन्दोलनको सुरुआत काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकाबाट हुने बताइएको छ। यद्यपि, आन्दोलनका लागि स्थान अनुमति नलिइएको जनाइएको छ। संयोजक सुवेदीका अनुसार, "जनविद्रोहका लागि ठाउँ मागिँदैन। जनताको साथमा हुने आन्दोलनका लागि सरकारसँग अनुमति लिने चलन छैन।"

सुवेदीले आफूहरूले हिंसारहित आन्दोलन गर्ने स्पष्ट पारेका छन्। "हामी प्रहरीले जहाँ रोक्छ, त्यहीँ रोकिन्छौं। हाम्रो आन्दोलनमा न लौरो हुन्छ, न बलजफ्ती।" उनले भने। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि "न त आमसभा न मञ्च छ, त्यसैले अनुमति लिनुपर्ने आवश्यकता छैन" भन्ने तर्क गरेका छन्।

तर, सरकारले भने राजावादीहरूको आन्दोलनलाई सहज रूपमा लिन तयार देखिएको छैन। जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिले मंगलबारको बैठकमा रत्नपार्क क्षेत्रको सुरक्षा रणनीति तयार पारेको बताइएको छ। एक सुरक्षा स्रोतका अनुसार, सरकार आन्दोलन हुन नदिने सोचमा छ र स्थान उपलब्ध नगराउने तयारीमा छ।

त्यसै दिन सत्तारूढ नेकपा (एमाले) ले पनि गणतन्त्र दिवस मनाउने तयारी गरेको छ। एमालेले भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकी र जनसभा गर्ने योजना बनाएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले "जेठ १५ गते काठमाडौं एमालेकै नियन्त्रणमा रहनुपर्ने" अभिव्यक्तिपछि सत्ता प्रतिपक्षीय नेताहरू र मानव अधिकार आयोगबाट आलोचना आएको छ।

एमालेका अनुसार, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट नेता–कार्यकर्ताहरू जुलुसमा सहभागी हुनेछन्। विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा जम्मा गरिने कार्यक्रम छ।

  • क्षेत्र ८, ९, १० बाट सहिदगेट

  • क्षेत्र ५, ६, ७ बाट कमलादी

  • क्षेत्र १, २, ३, ४ बाट डिल्लीबजार

भक्तपुर, ललितपुर र अन्य जिल्ला कमिटीहरूबाट पनि छुट्टाछुट्टै जुलुस निकालिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार