ट्रेन्डिङ

Logout

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नवौँ तहको परीक्षा सर्वोच्चको आदेशले स्थगित

5.6k Shares

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको अधिकृत नवौँ तहको परीक्षा स्थगित गरेको छ। सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि आयोगले हाललाई यो परीक्षा रोकेको हो। 

आयोगले फागुन २० गते ज्येष्ठता, कार्य सम्पादन मूल्याङ्कन र कार्य क्षमता मूल्याङ्कनका आधारमा प्राविधिक/अप्राविधिक पदहरूमा बढुवाका लागि विज्ञापन प्रकाशित गरेको थियो। विज्ञापनअनुसार प्राविधिकतर्फ ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा ३० पदमा ३५ जना र कार्य क्षमता मूल्याङ्कनका आधारमा ४९ पदमा ५० जनाको पदपूर्तिका लागि आवेदन खुलाइएको थियो। 

तर, समूहभित्रै आन्तरिक प्रतियोगितात्मक परीक्षा दिन नपाएको भन्दै कृषि र वन सेवा समूहका कर्मचारीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वैशाख २२ गते सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
 
आयोगकी शाखा अधिकृत मिना जोशीले सर्वोच्चको आदेश प्राप्त भएपछि अघिल्लो सूचनाअनुसारका परीक्षा कार्यहरू तत्कालका लागि स्थगित गरिएको जानकारी दिनुभयो। सर्वोच्चले अर्को आदेश नआएसम्म उक्त परीक्षा रोक्न निर्देशन दिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार