काठमाडौँ। स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) पुनः सुचारु गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज निर्णय लिन सक्ने बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, बोर्डले आज आइपिएलका बाँकी खेलहरू पुनः सुरु गर्ने बारेमा छलफल गर्दैछ।
आइपिएलमा अझै १२ लिग खेल र प्लेअफका चार खेल बाँकी छन्। यसअघि प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो। गत बिहीबार राति पाकिस्तानले भारतको जम्मु, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोन आक्रमण गरेपछि हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो। पञ्जाब किंग्सले १०.१ ओभर ब्याटिङ गरेपछि उक्त खेल स्थगित भएको थियो।
यो खेल रद्द हुने वा पुनः खेलाइने भन्ने बारेमा बोर्डले हालसम्म कुनै निर्णय गरेको छैन।
क्रिकइन्फोका अनुसार, एक साताका लागि स्थगित आइपिएल मे १५ देखि पुनः सुचारु हुन सक्छ। प्रतियोगिता रोकिएपछि धेरै विदेशी खेलाडीहरू आ–आफ्नो देश फर्किएकाले उनीहरूलाई भारत फर्कन केही समय दिएर आइपिएल सुचारु गर्ने तयारी भइरहेको छ।
मिडिया रिपोर्टहरूका अनुसार, बाँकी खेलहरू दक्षिण भारतका बेङ्गलुरु, चेन्नई र हैदराबादमा हुन सक्ने अनुमान छ। हाल सात टोली प्लेअफको दौडमा छन् भने चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफबाट बाहिरिइसकेका छन्।