काठमाडौँ। मोरङको विराटनगरस्थित एक होटलमा तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बीच कुटाकुट भएको घटना सार्वजनिक भएको छ। प्रहरी संगठनले यो घटनालाई लुकाउन खोजे पनि जानकारी बाहिर आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, विराटनगरका प्रमुख इन्सपेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय, मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय, रङ्गेलीका सन्तोष खड्काबीच एक साता अघि भएको यो घटना हो। उनीहरू खानपिनका लागि साँझ एक होटलमा पुगेका थिए। मदिरा सेवनपछि आपसी विवाद हुँदा झगडा भएको र हातपातको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रारम्भमा इन्सपेक्टर लम्सालले खनाल र खड्कामाथि हातपात गरेको बुझिएको छ। स्थिति बिग्रिएपछि खनालले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली बोलाए। तर, नियन्त्रण गर्न पुगेको टोलीमाथि समेत लम्सालले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
खनाल र खड्काले प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा पुर्याए। त्यहाँ पनि लम्सालले झगडा जारी राखे र कार्यालयमा रहेका सहायक हवल्दार सञ्जय भट्टराईमाथि आक्रमण गरे। प्रत्यक्षदर्शीका अनुसार लम्सालको कुटपिटबाट भट्टराईको नाक र मुख फुटेर रगत बगेको थियो। तर, भट्टराईले इन्सपेक्टर लम्सालको दबाबमा आफूमाथि कुटपिट नभएको दाबी गरेका छन्।
केही समयपछि स्थिति शान्त भएपछि लम्साल आफ्नो क्वार्टरमा गए, भने खनाल र खड्का आ–आफ्नो गन्तव्यतर्फ लागे। उनीहरूले यो घटनालाई सामान्य भन्दै कुनै असामान्यता नभएको दाबी गरेका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले इन्सपेक्टर लम्सालको हर्कत र कुटपिटको घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरे। तीनजना इन्सपेक्टरबीचको झगडा, कुटपिट र अन्य प्रहरीमाथिको आक्रमणको घटनालाई लुकाउन र गोप्य राख्ने प्रयास गरिएको थियो।