ट्रेन्डिङ

Logout

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न ठाकुर गैरेको माग

5.8k Shares

काठमाडौँ। सत्तारूढ नेकपा (एमाले) का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव डा. फणीन्द्रराज पाठकमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। 


सांसद गैरेका अनुसार शनिबार डा. पाठकले संवाद सचिवको रूपमा जारी गरेको संवेदना वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश’ उल्लेख गरिएको थियो। यो वक्तव्य संविधानविपरीत र आपत्तिजनक रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। 


आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै गैरेले भने, “हिजो १३ गते संविधानविपरीतको लज्जास्पद वक्तव्य जारी भयो। डा. फणीन्द्रराज पाठकको नाममा प्रकाशित उक्त वक्तव्यमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ लेखिएको छ।” 


उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्ता अभिव्यक्ति अस्वीकार्य रहेको बताए। “नेपालको संविधान र वर्तमान व्यवस्थामा ‘श्री ५ महाराजधिराज’ भन्ने कहाँ छ? यो कसरी लेखियो? के यस्तो गर्न पाइन्छ?” गैरेले प्रश्न गरे। 


संविधानको सर्वोच्चता र कानुनी शासनको सम्मान सबैले गर्नुपर्ने उनको जोड छ। “संसदको सर्वोच्चता, संविधानको मर्यादा र कानुनी राज्यको उपहास गर्ने छुट कसैलाई छैन,” उनले भने। 


सांसद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र डा. फणीन्द्रराज पाठकलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे। “यो वक्तव्य जारी गर्ने डा. पाठक र संवेदना सन्देश दिने ज्ञानेन्द्र शाहमाथि नेपालको संविधान र कानुनअनुसार तत्काल कारबाही होस्,” उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार