ट्रेन्डिङ

Logout

नेपाल आतंकवादविरुद्ध दृढ, पहलगाम हमलाको कडा निन्दा: परराष्ट्रमन्त्री डा. आरजु राणा

6.3k Shares

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सधैं आतंकवादको विरोधी रहेको र कुनै पनि प्रकार वा उद्देश्यका आतंकवादी गतिविधिको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ। भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार नेपालस्थित भारतीय दूतावासमा आयोजित समारोहमा उहाँले नेपाल आतंकवादविरुद्ध र शान्तिको पक्षमा दृढ रहेको स्पष्ट गर्नुभयो।


“नेपालले आतंकवादका सबै रूप र अभिव्यक्तिको कडा निन्दा गर्छ। जहाँ, जुनसुकै समय वा उद्देश्यले गरिएको आतंकवादी कार्यको हामी सधैं विरोध गर्छौं,” उहाँले भन्नुभयो।


मन्त्री डा. राणाले आतंकवादको सामना गर्न दोहोरो मापदण्ड कहिल्यै अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै देश वा जनताविरुद्ध प्रयोग गर्न नदिन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। त्यसैले, पहलगामको आतंकवादी हमलाको नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको उहाँले उल्लेख गर्नुभयो।


उहाँले यो दुखद घडीमा भारत सरकार र जनतासँग नेपालको पूर्ण समर्थन रहेको बताउनुभयो। आतंकवादविरुद्धको लडाइँमा नेपाल भारतसँग काँधमा काँध मिलाएर उभिएको उहाँको भनाइ थियो। नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै उहाँले यो सम्बन्ध केवल कूटनीतिक मात्र नभई साझा इतिहास, संस्कृति र सहकार्यमा आधारित रहेको बताउनुभयो।


“हाम्रा खुला सिमानाहरू आपसी विश्वासका प्रतीक हुन्, र हाम्रा पारिवारिक सम्बन्धहरूले हामीलाई नजिक बनाउँछन्। हामी सधैं सुख र सङ्कटमा एकसाथ उभिएका छौं। जब भूकम्पले नेपाललाई तहसनहस बनायो, सबैभन्दा पहिले सहयोगको हात भारतले नै बढाएको थियो,” उहाँले भन्नुभयो।
मन्त्री डा. राणाले पहलगाम हमलामा ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार