ट्रेन्डिङ

Logout

भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमणमा, यस्तो छ भ्रमण र भेटघाट तालिका

5.8k Shares

काठमाडौं । भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरु उपस्थित थिए।

ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल भ्रमणमा आएका हुन्। मन्त्री खड्काले गत माघ ३० गते भारत भ्रमणका क्रममा खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

नेपाल आगमनपछि खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी करिडोर अन्तर्गतको इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन तथा तुम्लिङटार, बानेश्वर र बसन्तपुर सबस्टेसनहरूको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। यो कार्यक्रम संखुवासभाको तुम्लिङटार सबस्टेसनमा हुनेछ।

त्यसपछि उनले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको अवलोकन समेत गर्ने छन्। साथै, नेपाल–भारत संयुक्त प्रसारण लाइन निर्माण कम्पनीसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर हुने भएको छ।

१० वैशाखमा मन्त्री खट्टरले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। त्यस दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट पनि गर्ने छन्। भ्रमणको अन्त्यमा खट्टरले साँझ पशुपतिनाथ मन्दिरको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार