ट्रेन्डिङ

Logout

मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः सुशासन र विकासमार्फत लोकतन्त्र सुदृढ गर्न प्रधानमन्त्री ओलीको आह्वान

5.9k Shares
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनप्रति दृढ संकल्प र जनतालाई पवित्र भावनाले सेवा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैलाई आग्रह गरेका छन्। मधेस प्रदेशसभालाई सम्बोधन गर्दै उनले गरिबीबाट मुक्ति नै जनताको पहिलो अधिकार भएको र गरिबीका अगाडि अन्य अधिकारको अर्थ नहुने भन्दै विकास र समृद्धिको यात्रामा एकजुट भएर अघि बढ्न आह्वान गरे।
 
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र हाम्रो ठूलो उपलब्धि हो। यो केवल राजनीतिक उपलब्धि मात्र होइन, जनताको सङ्घर्षबाट प्राप्त भएको हो। त्यसैले हाम्रा प्रयास जनसेवामा समर्पित हुनुपर्छ। पूर्ण लोकतन्त्रका लागि काम गर्नुपर्छ,” उनले भने। “जनताले परिवर्तनको फल आफ्नो जीवन, सन्तानको हित र आधारभूत आवश्यकतामा खोज्छन्। हामीले जनजीवनमा लोकतन्त्रको अनुभूति दिनुपर्छ। सामाजिक जीवनमा लोकतन्त्र फुलाउन विकास र सुशासनको गति बढाउनैपर्छ।”
 
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक–सांस्कृतिक एकता, सहिष्णुता र सद्भावलाई सुन्दर पक्षका रूपमा उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील र विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमान राख्न गरेको योगदानको प्रशंसा गरे।
संविधानले प्रदेशलाई दिएको स्वायत्तताको सही उपयोग गर्नु सबैको कर्तव्य भएको बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, नीति निर्माण र विकास कार्य प्रभावकारी बनाउन प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे।
 
मधेस प्रदेशलाई सम्भावनाको उर्वर भूमिका रूपमा चित्रण गर्दै ओलीले यहाँको कृषि, चुरे क्षेत्रको जडीबुटी, जंगल र जलस्रोतको प्रशस्तता रहेको बताए। सुनकोशी डाइभर्सनजस्ता आयोजनाले मधेसमा सिँचाइ विस्तार गरी उत्पादन र उत्पादकत्व बढाउने तथा पहाड र तराईबीच एकताको भावना सृजना गर्ने उनको भनाइ थियो।
 
उनले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग र रामराजाप्रसाद सिंह अस्पताललाई मधेसको विकास र समृद्धिको आधार माने। बिरगञ्जको आइसिपी र प्रमुख भन्सार नाकालाई आर्थिक केन्द्र तथा जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधार बनाउन सकिने उनले बताए। रेलमार्गको कुरा गर्दा सुरुमा विरोध भए पनि अहिले जनकपुरमा रेल यात्रा सहज भएको स्मरण गर्दै उनले इच्छाशक्ति भए असम्भव केही नहुने स्पष्ट पारे।
 
“प्रतिपक्ष रचनात्मक बनोस्, सरकारले पनि प्रतिपक्षलाई साथमा लिएर अघि बढोस्। यो प्रदेशलाई देशकै नमुना बनाउन सकियोस्,” उनले भने। “उचित नीति बनाएर एकता र एकरूपताका साथ काम गर्न म आह्वान गर्छु। यहाँको विकासमा सङ्घीय सरकारको पूर्ण साथ रहनेछ।”
 
मधेसलाई राजर्षि जनक, माता सीता, परशुराम, विद्यापति र छिन्नमस्ताजस्ता विभूतिहरूको भूमिका रूपमा स्मरण गर्दै ओलीले पुर्खाको ज्ञान र गौरवलाई सम्मान गरी आधुनिक विकासमा जुट्नुपर्नेमा जोड दिए। सरकारले अब नगद बाँड्ने नीतिलाई प्रोत्साहन नगर्ने भन्दै उनले पशुपालन, उपकरण र औजारका लागि अनुदानमा जोड दिनुपर्ने बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार