राजावादीहरूको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा भएको आगजनीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले खबरहबलाई दिएको जानकारीअनुसार सन्चोसहित औषधि उत्पादन गर्ने उक्त कम्पनीमा आगो लगाउने चार अभियुक्त पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ का दिनेश खड्का छन्। उनलाई प्रहरीले चैत १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो। त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का सुशील बराललाई चैत १९ गते समातिएको छ। उनी पनि उक्त कम्पनीमा आगो लगाउने कार्यमा संलग्न थिए।
आगजनीमा संलग्न अर्का अभियुक्त रामेछापको गोकुलगंगा गाउँपालिका-२ का केशव बस्नेत हुन्। यस्तै, आइतबार सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पनि प्रहरीले उक्त उद्योगमा आगो लगाएको अभियोगमा पक्राउ गरेको छ। तामाङले तीनकुनेबाट अराजक गतिविधि गर्दै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरीको बिट तोडफोड गरेको पाइएको छ। एसपी जिसीका अनुसार तामाङ ट्राफिक लाइट तोड्दा लगाएको टीसर्टमै घुमिरहेको अवस्थामा समातिएका हुन्।
यसैबीच, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाकी ३० वर्षीया एनी कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ। तीनकुनेमा राजावादीको आगजनीबाट जलेको पत्रकार सुरेश रजकको घरमा शंकास्पद रूपमा छिरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीले आगजनी र तोडफोडमा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी राखेको छ।