जितु भगत, देवानगञ्ज (हाल अष्ट्रेलिया)
नेपालमा राजनीतिक परिवर्तनका अनेकौं उतारचढ़ाव भोगियो। राजतन्त्र हटेर गणतन्त्र स्थापना भयो, तर आम नागरिकको अवस्था उस्तै रह्यो। के समस्या हाम्रो शासन प्रणालीमा मात्र थियो, कि हामी स्वयं जिम्मेवार छौं?
आज पनि जनता नेताहरूको पछि लाग्न बाध्य छन्, चुनावको समयमा उनीहरूसँग आश्वासन सिवाय केही हुँदैन। केही हजार रुपैयाँ, मासु-भात वा जातीय-धार्मिक भावना भड्काएर भोट किन्ने प्रवृत्ति कहिलेसम्म चलिरहन्छ? देशलाई परिवर्तन गर्न राजतन्त्र वा प्रजातन्त्र मात्र परिवर्तन गरेर पुग्दैन, चेतनशील नागरिक आवश्यक छन्।
नेपालको सडकमा १५ लाख जनता प्रदर्शन गर्न सक्छन्, तर चुनावको बेला २ लाख स्वयंसेवक खटाएर जनचेतना जगाउने काम किन सक्दैनन्? हाम्रा मतहरूको मूल्य बुझ्न जनतालाई सिकाउनु जरुरी छ। लोकतन्त्र भनेको चुनावको दिन मात्र सक्रिय हुने प्रणाली होइन, यो निरन्तर नागरिक सहभागिता आवश्यक पर्ने शासन व्यवस्था हो।
देश निर्माणको जिम्मेवारी संविधानसँग छ, तर संविधान परिमार्जन गर्ने नेताहरूलाई छनोट गर्ने जिम्मा जनताकै हो। हरेक पाँच वर्षमा हामीले सरकार परिवर्तन गर्ने अवसर पाउँछौं। यदि हामी सही नेताहरू छान्न असफल भयौं भने, दोष शासन प्रणालीलाई मात्र दिनु गलत हुन्छ।
सुधार हाम्रो मानसिकताबाट सुरु हुन्छ। जबसम्म हामी घूस दिन बन्द गर्दैनौं, तबसम्म घूस लिने प्रवृत्ति रोकिँदैन। जबसम्म हामी चित्त बुझाएर गलत नेताहरूलाई जिताइरहन्छौं, तबसम्म उनीहरू सत्तामा टिकिरहन्छन्।
लोकतन्त्र अहिलेको आवश्यकता मात्र होइन, भविष्य पनि यही हो। राजतन्त्र इतिहास बनिसकेको छ। अबको लडाइँ चेतनशील नागरिक समाज निर्माण गर्ने हो। आगामी तीन वर्षमा चुनाव हुँदैछ। परिवर्तनको अभियान आजै सुरु गरौं। देशभित्र वा बाहिर, सबै नेपालीले आफ्नो सक्दो योगदान गरे, भने नेपाल बदलिन्छ।
जय नेपाल!