बजेट वक्तव्यः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु एक खर्ब ५० अर्ब ५३ करोड
7.6k
Shares
काठमाडौँ, १५ जेठ : सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त मन्त्रालयले कार्यान्वयन गर्ने विभिन्न आयोजनासहित बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।
सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइने सरकारको लक्ष्य रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड र कमला–कञ्चनपुर सडकखण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी आवमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिङ्गे र भालुबाङ–लमही सडकखण्ड स्तरोन्नति कार्य सुरू गरिने र पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि रु २९ अर्ब ८८ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
यसैगरी काठमाडौँ–तराईं मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमार्गको निर्माण आगामी आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजनाका लागि रु २२ अर्ब ५४ करोड विनियोजन भएको छ ।
अर्थमन्त्री पुनका अनुसार आगामी आवमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडकखण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न रु तीन अर्ब ६८ करोड विनियोजन भएको छ । हुलाकी राजमार्गअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न रु तीन अर्ब ३० करोड विनियोजन गरिएको छ ।
बजेटमा कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उल्लेख छ । कालीगण्डकी कोरिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड र मालढुङ्गा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोशी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिने उहाँको भनाइ छ । कर्णाली कोरिडोरको पाँच वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । उत्तर दक्षिण कोरिडोरको लागि रु चार अर्ब ४३ करोड विनियोजन भएको छट ।
मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन रु तीन अर्ब ६० करोड विनियोजन गरेको भएको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक सञ्जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डमा थप ४० किलोमिटर स्तरोन्नति गरिन बजेट वक्तव्यमा उल्लेख गरिएको छ । आँबुखैरनी–पोखरा खण्डमा कालोपत्रे सम्पन्न र मुग्लिङ–आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य सुरु गरिने लक्ष्य छ । यसको लागि रु नौ अर्ब ५७ करोड विनियोजन भएको छ ।
बजेट वक्तव्यअनुसार सहिद मार्गअन्तर्गत होलेरी–दारबोट खण्डमा बीस किलोमिटर कालोपत्रे, दारबोट–घर्ती गाउँ–दुईखोली खण्डमा २० किलोमिटर ग्राभेल र घोराही–होलेरी खण्डमा कालोपत्रे सुरु गरिने छ । यसका लागि रु एक अर्ब २५ करोड विनियोजन भएको छ । भेरी, तमोर, महाकाली करिडोर, सेती लोकमार्ग र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको स्तरोन्नतिका गरिनेछ । कोरिडोरतर्फ रु तीन अर्ब ८६ करोड विनियोजन भएको छ ।
यसैगरी अन्तरदेशीय व्यापारिक मार्गको गल्छीदेखि स्याफ्रुबेँसीसम्म सडक स्तरोन्नति कार्य सम्पन्न र स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति कार्य सुरु गर्ने लक्ष्य रहेको छ । यसका लागि रु एक अर्ब ८० करोड विनियोजन भएको छ । पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार मनकामना–बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने वक्तव्यमा उल्लेख छ ।
राष्ट्रिय राजमार्ग र रणनीतिक सडकअन्तर्गत एक सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । नारायणी तथा तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण कार्य अगाडि बढाइनेछ । यी कार्यक्रमका लागि रु दुई अर्ब ४६ करोड विनियोजन भएको छ ।
बजेट वक्तव्यमा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने र सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरिने उल्लेख छ । यस्तै ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्ने र कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरु उल्लेख छ । सुरुङमार्ग, फ्लाइओभर र इन्टरसेक्सन निर्माणका लागि रु पाँच अर्ब ६३ करोड विनियोजन भएको छ ।
यस्तै, राष्ट्रिय राजमार्गको दुई सय ५० किलोमिटर र अन्य राजमार्गको सात हजार आठ सय किलोमिटर सडकको मर्मतसम्भार गर्न रु छ अर्ब ५४ करोड विनियोजन भएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालका लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने लक्ष्य रहेको छ । सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा ‘क््रयास व्यारियर’ र काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने सरकारको लक्ष्य छ ।
बजेट वक्तव्यअनुसार जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गरिने छ । पूर्व—पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने र केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेलगायत रेलमार्ग विकासका लागि रु तीन अर्ब ८८ करोड विनियोजन भएको छ ।
बजेटमा सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण सुरु गरिने र नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिने लक्ष्य छ ।
यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइनुका साथै दिगो तथा वातावरणमैत्री यातायात प्रणालीको विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।
सडक दुर्घटनाबाट घाइते व्यक्तिको उपचारका लागि प्रदान गरिने रकम र सडक दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने पनि सरकार बजेट वक्तव्यमार्फत जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन
२.
रोनाल्डोको २३ वर्षे अन्तर्राष्ट्रिय यात्रा समाप्त, पोर्चुगलको जर्सीलाई भने बिदाइ!
३.
मृत्युदण्डको फैसला हुँदाहुँदै शेख हसिनाको घोषणा : ‘डिसेम्बरमा बङ्गलादेश फर्किन्छु’
४.
बागमतीमा १४२ अधिकृतको सरुवा, ७९ जना एउटै मन्त्रालयमा
५.
सर्वोच्च पुगे पदमुक्त आईजीपी कार्की
६.





