ट्रेन्डिङ

Logout

प्रकाशकीय: हाम्रो प्रयास

11.3k Shares

हामी आयौं, एउटा उद्देश बोकेर । राम्रो उद्देश्य । नेपालमा बढी रहेको अनलाईन समाचार पोर्टलको भिडमा हामी पनि थपिएका छौं । 
नेपालको सन्दर्भमा अनलाईन पोर्टलबाट गरिने पत्रकारिताको थालनी वा अभ्यास नौलो भने पक्कै होइन । अब हामीले के गर्छौ भन्ने कुरा नौलो हुन जान्छ । अबको हाम्रो यात्रा कुन दिशा तर्फ अग्रसर हुन्छ भन्ने पाटो महत्वपूर्ण हो ।

विश्वभर नै मिडिया एउटा जिम्मेवार क्षेत्र हो। देशको चौथो अंग भनेर चिनिने यो क्षेत्र एकदमै  जिम्मेवार र संवेदनशील हुन्छ । 

मिडियामा सम्प्रेषित कुराहरू तथ्यले भरिपूर्ण र विभिन्न क्षेत्र,तह र तप्कामा असर पार्ने खालका हुनुपर्छ। तर एउटा तितो यथार्थ यो पनि छ कि मिडियामा आएका ती सामाग्रीहरु सबैका लागि अनुकूल हुन सक्दैन । 

सूचना सबैको हक हो । त्यसैले सञ्चार जगत दिनप्रतिदिन बामे सर्दैछ । सञ्चार माध्यमका विभिन्न विधामा त्यति नै धेरै रोमाञ्चकारी प्रतिस्पर्धा छ । सूचना जनता समक्ष पुर्‍याउन कसैले कुनै कसर बाँकी राखेका छैनन् । आम सञ्चारका यतिविघ्न माध्यम हुँदापनि जनता भने सत्य–तथ्य र विश्वासिलो सूचनाको भने अझै भोको छन् । 

त्यही भोक मेटाउने प्रयास स्वारुप हामी 'रिपब्लिक नेपाल' लिएर आएका छौं ।हामीले सत्य र तथ्यलाई नै मुलमन्त्र बनाएर अघि बढ्ने प्रयत्न गरेका छौं ।

जनतामा चेतनाको लहर जागेको छ। पहिलेजस्तो कसैले लादेका प्रोपोगाण्डामा चित्त बुझाएर बस्ने पाठक, श्रोता अनि दर्शकहरू छैनन् आज। त्यसैले मिडियामा प्रस्तुत गरिएका खबरहरू, विचारहरू तथ्य र आधारहीन भएमा त्यसले क्षणिक सस्तो लोकप्रियता त बटुल्न सक्ला। तर, दूरगामी असर नकारात्मक नै पार्ने गर्छ। 

हामी रुद्र डिजिटल कर्प प्रालिमार्फत रिपब्लिक नेपाल डट कम अनलाइन न्युज पोर्टल लिएर यहाँहरूसामु उपस्थित भएका छौं।

राज्यको चौथो स्तम्भ पत्रकारिताको सत्य हेर्ने तेस्रो आँखा खोल्न यो हरसम्भव प्रयत्नशील रहने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । स्वतन्त्र, समृद्ध र सुरक्षित लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रता रक्षाका लागि यससँग सबल नेतृत्व छ जसले पक्कै पनि पाठकको मन जित्न सफल हुनेछ ।

त्यसैले हामी सधैं समाचारको सत्यतथ्यलाई खोतलेर मात्र खबरप्रवाह गर्ने सोचमा लागेका छौं। हाम्रो समाचारका विषयहरू सनसनी बनाउनुको सट्टा यथार्थपरक बनाउनेतर्फ हाम्रो जोड रहने छ।

नयाँ जोश, उमङ्ग र ऊर्जाले भरिएका यूवा श्रमजीवि पत्रकारहरुले मिलेर सञ्चार जगतमा यो सञ्चार माध्यम ल्याएको हो । अन्य सञ्चार माध्यमले बोकेका पुरातन अवधारणालाई त्यागेर पृथक सोच, शैली र स्वस्थ दृष्टिकोण र फरक स्वादका साथ समाचार र विचारहरु पस्किने जमर्काे गर्नेछौं ।

त्यसैगरी केवल मूलधारमा पट्यारलाग्दो गरी बोलिएका बकम्फुसे आरोपप्रत्यारोप शैलीका समाचारभन्दा पनि दबिएका र मूलधारमा नअटाएका तर आमजनचासोका विषयवस्तुहरूलाई अगाडि ल्याउने हाम्रो प्रयास रहने छ। यसका साथै सम्भव भएसम्म सकारात्मक शैलीका समाचार प्रवाहका लागि हाम्रो कोशिश रहिरहने छ।

मिडियाकर्मले व्यावसायिक धर्मलाई अँगाल्यो भने मात्र त्यहाँ पाठकहरूको विश्वास कायम रहन्छ। यसका लागि यस संस्थामा रहेका हाम्रा कर्मठ सहकर्मीहरूलाई पत्रकारिता क्षेत्रलाई व्यावसायिक रूपमा अँगाल्न हौसला दिलाउनका लागि हाम्रो सदाप्रयास रहने छ। 

सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पनालाई साकार तुल्याउन दृढ संकल्प, पूर्ण अठोट र प्रतिवद्धताका साथ आफूलाई उभ्याउन हामी हरसम्भव प्रयास गर्ने छौँ ।

अन्त्यमा यस अनलाइन न्युज पोर्टल सञ्चालनमा योगदान पुर्याउनुहुने सबै सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं। हाम्रो उद्देश्य प्राप्तिका लागि आगामी दिनमा पाठकवर्ग, शुभेच्छुक तथा विज्ञापनदाताबाट सहयोगको अपेक्षा गरेका छौं। 

प्रकाशक
संजिव कुमार झा

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार