सप्तरी (बोदे बर्साईन), २२ चैत : जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदे बर्साईनमा रहेका सरकारी कार्यालयको अनुगमन गरेको छ । बोदे बर्साईन नगरपालिकामा रहेका इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत विभिन्न सरकारी कार्यालयको अनुगमन गरिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वको टोलीले बोदे बर्साईनस्थित सरकारी कार्यालयको अनुगमन गरेको हो । जिल्लामा सुशासन, सेवा प्रवाहलाई चुस्तदुरुस्त, कर्मचारीलाई अनुशासित र मर्यादित बनाउन सरकारी कार्यालयको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
प्रशासन कार्यालयले आफ्नै कार्यालयबाट अनुगमनको सुरुआत गरेको थियो प्रजिअ थापाले भन्नुभयो, “कर्मचारी कार्यालयमा उपस्थित भएर पनि हाजिरी नगरेको पाइएको छ ।” विभिन्न सरकारी कार्यालयमा गरिएको अनुगमनमा केही कर्मचारीले कार्यालयको पोसाक नलगाएको, कार्यालयमा उजुरी पेटिका नभएको लगायतका समस्या पाइएको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालयका प्रमुख तथा प्रतिनिधिले संयुक्तरुपमा अनुगमन गरेका थिए ।