Live ताजा अपडेट

Logout

‘आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन’

‘आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन’
काठमाडौँ, २२ चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने तयारी रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित आगामी बजेटबारे विभिन्न मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग सामूहिक छलफलका साथै अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तरक्रिया गर्नुभयो । 
 
अर्थमन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेकका मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेको तथ्याङ्क प्रस्तुत गर्दै खर्च क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । पुँजीगत खर्च कम हुनुमा खर्च गर्ने क्षमता कमजोर हुनु मात्र नभइ बजेट विनियोजन कुशलताको अभावलाई पनि उहाँले कारणका रुपमा औँल्याउनुभयो । 
 
“तर यो पटक त्यस्तो हुँदैन । खर्च हुने आयोजनामा मात्र बजेट विनियोजन गर्ने सोचमा अर्थ मन्त्रालय छ”, मन्त्री पुनले भन्नुभयो, “आफैले राखेका योजना कार्यान्वयन गर्न सकिँदैन भने त्यस्ता अवस्तुगत योजनाले आगामी बजेटमा निरन्तरता पाउन सक्दैनन् ।” 
 
छलफलमा सचिवहरु तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको सुझाव सुनेपछि सबैको अपनत्व हुने गरी आगामी वर्षको बजेट निर्माण हुने मन्त्री पुनले बताउनुभयो । समयमै बजेट कार्यान्वयन नहुने प्रवृत्तिले अर्थतन्त्र चलायमान हुन नसकेको तथा रोजगारी सिर्जना र पुँजी निर्माणमा समेत नकारात्मक प्रभाव परेको उहाँको निष्र्कष थियो । 
 
बजारमा पैसा गए मात्र अर्थतन्त्र चलायमान गर्न सकिनेमा कसैको विमति नरहे पनि समयमै खर्च नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने मन्त्री पुनको भनाइ थियो ।  अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको तर पुँजीगत खर्चको सीमितता र राजस्व सङ्कलनमा देखिएको सङ्कुचनका कारण आन्तरिक अर्थतन्त्रमा शिथिलता रहेको उहाँले उल्लेख गर्नुभयो । 
 
मन्त्री पुनले सुशासन कायम गर्ने सरकारको प्रयासले हुण्डी कारोबारमा आएको नियन्त्रणको प्रभाव देखिएको उल्लेख गर्नुभयो । अर्थ र गृह मन्त्रालयले राजस्व चुहावट नियन्त्रण गर्ने गरी कार्ययोजना बनाएर लागूसमेत गरिसकेकाले चालु आर्थिक वर्षको बाँकी तीन महिनामा राजस्व सङ्कलन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मन्त्री पुनले निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेकामा जोड दिँदै व्यक्तिको ज्यान, सम्पत्ति र व्यवसायको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको बताउनुभयो । 
 
आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अनिवार्य दायित्वका लागि बजेट छुट्याउने, यसअघि नै स्रोत सुनिश्चित गरिएका आयोजनालाई आगामी वर्ष खर्च हुने आवश्यक बजेट विनियोजन गर्ने र सिर्जित दायित्व भुक्तानीका लागि आवश्यक रकम प्रस्ताव गर्ने मन्त्री पुनले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा उत्पादन र रोजगारी सिर्जना हुने खालका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो ।
ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ