ट्रेन्डिङ

Logout

भोजपुरभर उँधौली साकेलाको रंग–रौनक, ढोल–झ्याम्टाले गुन्जियो किराँत बस्ती

3.4k Shares

हिउँदेयाम सुरुसँगै भोजपुरका किराँत बस्तीहरू उँधौली साकेलाको उत्सवमय रंगमा रंगिएका छन्। मंसिरको चिसोसँगै गाउँ–टोल ढोल र झ्याम्टाका धुनले गुञ्जिन थालेका छन्। प्रकृतिपूजक किराँत राई समुदायले मनाउने किराँत येले ५०८५ उँधौली (धान्यपूर्णिमा) भोजपुरका सबै राईबहुल क्षेत्रहरूमा धुमधामले सुरु भएको छ।

किराँत राई मुन्दुम अनुसार उँधौलीमा भूमिपूजा, माङ–पितृपूजा, कुखुराको बलि, कन्दमूल खाने तथा काँचो तरुलको टीका लगाउने पुरानो परम्परा आज पनि यथावत छ। बोखिमका कुलपूजक तीर्थ राईका अनुसार जाडो छल्न पुर्खा बेसी झर्ने स्मरणमा मनाइने यो पर्व प्रकृतिप्रति कृतज्ञताजस्तै मानिन्छ।

मंसिर पूर्णिमादेखि सूर्य दक्षिणतिर लाग्ने भएकाले किराँत मुन्दुममा उँधौलीलाई ‘दोङदावा’ भनिन्छ। यसलाई मानिस, जनावर तथा चराचुरुंगी उच्च ठाउँबाट बेंसीतिर बसाइँ सर्ने संकेतको रूपमा लिने गरिन्छ। अन्नबाली भित्र्याइएपछि तीनचुलो पूजेर साकेला नाच्ने चलनले कृषि–संस्कृति र पुर्खाको जीवनशैलीलाई पुस्तादेखि पुस्तासम्म बाँधेर राखेको मानिन्छ।

संस्कृतिविद् कमलजंग राईका अनुसार उँधौली कृषि चक्र, प्रकृतिको परिवर्तन र पुर्खासँगको सम्बन्ध पुनःस्मरण गर्ने महत्वपूर्ण चाड हो।
“उँधौली भनेको पुर्खासँगको संवाद, माटोसँगको प्रतिज्ञा र प्रकृतिसँगको सम्झौता हो,” उनी भन्छन्।

साकेला सिली समुदायलाई बाँध्ने सांस्कृतिक उत्सव

साकेला, साकेन्वा, साख्खेवा जस्ता नामले चिनिने सामूहिक नृत्य किराँत राईको सांस्कृतिक पहिचान मानिन्छ। गाउँका केटाकेटीदेखि वृद्धसम्म ढोल, झ्याम्टा, बिनायो र सिल्लिमोको तालमा गोलबन्दी भएर नाच्दा टोलभर उत्सवको माहोल छाउँछ।

संस्कृति अगुवा चक्रप्रसाद राईका अनुसार उँधौलीले भातृत्व, भाइचारा र आपसी सम्बन्ध गहिरो बनाउने काम गरेको छ। कृषिघरायसी जीवनशैलीसँग जोडिएका सिलीहरू—जंगली जनावरको चाल, खेतीपातीका हाउभाउ, जीवनचक्रका प्रतीक—आज पनि आकर्षणको केन्द्र छन्।

पछिल्लो पुस्तामा उँधौली साकेला केवल राई समुदायको पर्व नभई सामुदायिक उत्सवको स्वरूप लिन थालेको देखिन्छ। हतुवागढी होम्ताङका जनक राईका अनुसार गैरकिराँत समुदायको सहभागिता बढ्दै जाँदा सहिष्णुता र सामुदायिक सद्भाव अझै मजबुत बनेको छ।

भोजपुर मात्र होइन, सम्पूर्ण किराँत क्षेत्र नै अहिले उँधौली साकेलाको रौनकले झिलिमिली छ — प्रकृति, संस्कृति र सामूहिक ऐक्यबद्धताको साझा उत्सवमा डुब्दै।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार