अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतीक्षित शिखर वार्ता शुक्रबार अलास्कास्थित अमेरिकी सैन्य अड्डामा हुने भएको छ। यो वार्ता मुख्यतः युक्रेनमा युद्धविरामका विषयमा केन्द्रित रहनेछ। रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ देखि जारी युद्धले हजारौँ सैनिक तथा सर्वसाधारणको ज्यान लिइसकेको छ।
वार्तामा युक्रेन प्रत्यक्ष सहभागी नहुने भए पनि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले युद्धविरामका लागि पाँच वटा सिद्धान्त तथा सर्तहरू ट्रम्पमार्फत पुटिनसमक्ष पुर्याएका छन्। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स का अनुसार ट्रम्पले यी सबै सर्तमा सहमति जनाएका छन्।
सर्तहरूमा जमिन अदलीबदलीबारे त्रिपक्षीय वार्ता, युक्रेनको सुरक्षा ग्यारेन्टी, नेटो सदस्यताबारे रुसको हस्तक्षेप रोक्ने, युद्धविराम नभए रुसमाथि कडा प्रतिबन्ध, र वार्ताको प्राथमिकता तत्काल युद्धविराममा केन्द्रित हुने समावेश छन्। विशेष रोचक तथ्य यो हो कि अलास्का, जहाँ वार्ता हुँदैछ, सन् १८६७ मा तत्कालीन रुसका जार अलेक्जान्डर द्वितीयले ७२ लाख डलरमा अमेरिकालाई बेचेका थिए।