ट्रेन्डिङ

Logout

पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानुनी सम्पत्ति मुद्दा दायर

4.8k Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागमा कार्यरत हुनुहुन्थ्यो।

आयोगका अनुसार, २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५५३ रूपैयाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको छ। सो अवधिमा उहाँ र परिवारको नाममा जम्मा दुई करोड ६८ लाखभन्दा बढीको आय देखिए पनि खर्च तथा लगानी रकम तीन करोड ६५ लाखभन्दा बढी पुगेको र स्रोत नखुलेको सम्पत्ति पाइएको आयोगले जनाएको छ।

मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत र झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग गरिएको छ। सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति उहाँकी श्रीमती आशाकुमारी यादवको नाममा राखिएको पाएपछि उनलाई समेत प्रतिवादीका रूपमा कायम गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार